काठमाडौं । समाजवादी मोर्चाले मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकेको छ ।
आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा विप्लवलाई तोकेको हो ।
नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरुले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए ।
साथै बैठकमा समसायिक, राजनीतिक परिस्थितिका विषयमा पनि छलफल भएको छ । मोर्चाको बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको र देशका प्रमुख सहरमा जनपरिचालनको कार्यक्रम आयोजना गरिने जानकारी दिएका छन् ।




















