काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी राष्ट्रिय महाधिवेशनले पार्टीलाई सही बाटोमा ल्याउनुपर्ने बताएका छन् ।
पार्टीले वर्ग आत्मसमर्पणवादको बाटो लिएकाले आगामी राष्ट्रिय महाधिवेशनबाट त्यसलाई सच्याउनुपर्ने सम्मानित नेता खनालको भनाई थियो ।
समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीबाट श्रमजीवि वर्गबाट टाढा पु-याउने काम विद्यमान मोर्चाबन्दीले गरिरहेकाले त्यसलाई सच्याउने कुरालाई ध्यानमा राखेर पार्टीले आगामी महाधिवेशनको तयारी गर्नुपर्ने बताए ।
सम्मानित नेता खनालले वर्ग समन्वयको बाटोबाट मुलुकमा श्रमजीवी वर्गको हित हुनै नसक्ने बताए ।
नेता खनालले नेपालमा हाल तत्काल बामपन्थीहरुबीच एकता सम्भव नभए पनि कार्यगत एकता हुनसक्ने पनि दोहो-याए ।