काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशन अत्यन्त सभ्य भएको र यसले पार्टी निर्माणमा सहयोग पुग्ने बताएका छन्।
माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव संकलनपछि सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्राप्त सुझावका आधारमा ओजपूर्ण बनाउने विश्वास दिलाए। उनले आगामी महाधिवेशनदेखि जनवादको आधारमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट समिति निर्माण गर्ने र समितिबाट प्रत्यक्ष निर्वाचनको विधिबाट नै पदाधिकारी चयन गर्ने निष्कर्षमा पुगेको बताए।
आमरूपमा पार्टी समिति सानो बनाउनुपर्ने सबैको सुझाव आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी अधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय समिति बनाइने निष्कर्ष सुनाए। आगामी अधिवेशनपछि ११ जनाको केन्द्रीय कार्यालय बनाउने र त्यसैलाई प्रभावकारी बनाइने उनले जानकारी दिए।
योग्यता र कार्याअवधिको व्यवस्था नियमावली बनाएर जाँदा उचित हुने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रत्येक दुई वर्षमा सदस्यता नवीकरण गरिने बताए। प्रदेशलाई बलियो बनाउने विषयलाई उच्च प्राथमिकतामा राख्नेगरी विधान बनाइने बताउँदै त्यसैले संघीयता र समानुपातिक व्यवस्थालाई प्रभावकारी बनाइने अध्यक्षले जानकारी दिए।
नाम र चुनाव चिह्नका विषयमा कुनै खास समयमा निर्णय गरिने उल्लेख गर्दै उनले धेरै कम्युनिष्ट पार्टीबीच एकता हुने अवस्थामा नाम फेर्न सकिने तर अहिले यथावत राख्ने बताए। उनले मोर्चालाई वैचारिक तालिमसहित स्वायतता दिने र जनवर्गीय संगठनलाई पनि विस्तार गरिने बताए। स्थायी समितिको बैठकबाट कार्यविभाज गरेर जानकारी दिइने उनको भनाइ थियो।




















