कास्की । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले सरकारले जनताका अपेक्षा पूरा गर्न नसक्दा राजावादीको शक्ति बढेर गएको बताएका छन् ।
समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले जनअपेक्षा पूरा गर्न नसकिएकाले जनतामा असन्तोष, आक्रोस बढ्नुका साथै जनताले दिशाहीन महसुस गरेको उल्लेख गरे । नेता खनालले जनताका आधारभूत समस्या छुनेगरी सरकारले काम गर्नुपर्ने बताए ।
सरकारले सही ढङ्गले काम गर्न नसक्दा राजावादी र पुनरुत्थानवादी शक्ति बढेको नेता खनालले जिकिर गरे । उनले अहिलेको बाटो यथास्थितिको भएकाले यसको परिवर्तन सम्भव भएकाले राजनीतिक पार्टीहरुले नयाँ ढङ्गले सिंहावलोकन गर्नुपर्ने बताए ।
नेपालको कम्युनिष्ट आन्दोलनमा गलत वैचारिक र राजनीतिक कार्यदिशाका कारण विभाजन आउने गरेको उनको भनाइ थियो । उनले सही कार्यदिशा भएका खण्डमा कम्युनिष्ट आन्दोलन पुनःएकताबद्ध हुने उल्लेख गरे ।
समाजवाद प्राप्तिको नीति, कार्यक्रम र नेपाली विशेषताको समाजवादका बारेमा उनले प्रष्ट पार्नुपर्नेमा जोड दिए ।
नेकपा (एकीकृत समाजवादी) को आसन्न राष्ट्रिय महाधिवेशनपछि नेपाली कम्युनिष्ट र समाजवादी आन्दोलनमा नयाँ लहर सिर्जना हुने नेता खनालको दाबी थियो ।