काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलिया जादैँछन् ।
अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद अष्ट्रेलिया जान लागेका हुन ।
सो सम्मेलन माघ २६ र २७ गते अष्ट्र्र्रेलियाको पर्थमा हुदैँछ । यही माघ २७ गते ‘स्थिर र र दिगो हिन्द महासागरतर्फ’ विषयमा मन्त्री साउदले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सो क्रममा अस्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै मन्त्री साउद उतैबाट न्युजिल्यान्ड जानेछन् । फागुन २ मा उनले न्युजिल्यान्डका परराष्ट्रमन्त्री विन्स्टन पिटर्ससँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
मन्त्री साउदका साथमा उनकी धर्मपत्नी श्रीमती ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारी पनि जाने छन् । अस्ट्रेलियाका लागि नेपाली राजदूत एचई नेपाली प्रतिनिधिमण्डलमा कैलाशराज पोखरेल पनि सहभागी हुनेछन् ।
मन्त्री साउद फागुन ३ गते स्वदेश फर्कनेछन् ।




















