काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्म प्रसाद पाण्डेयलाई नियुक्त गर्नुभएको छ । पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबार राजीनामा दिएसँगै राष्ट्रपतिले उक्त राजीनामा स्वीकृत गर्दै यसअघिको सिफारिस अनुसार महासचिवमा नियुक्त गर्नुभएको हो ।
मंसिर २५ गते तत्कालीन महासचिव भरतराज गौतमले राजीनामा दिएपछि राष्ट्रिय सभाका सचिव पाण्डेलाई महासचिव नियुक्तिका लागि सिफारिस गरिएको थियो ।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पाण्डेयलाई महासचिव नियुक्तिका लागि मंसिर २४ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । तर राष्ट्रपति पौडेलले अतिरिक्त र अनावश्यक सक्रियता देखाएर रोकेर राख्नु भएको थियो ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा १० बमोजिम रिव्दिकोट गाउँपालिका – १, पाल्पा जिल्ला निवासी श्री पद्म प्रसाद पाण्डेयलाई मिति २०८० माघ २३ गते देखि लागु हुनेगरी संघीय संसदको महासचिव पदमा नियुक्त गर्नुभएको छ।’
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपतिले पाण्डेयलाई संघीय संसदको महासचिव पदमा नियुक्त गरेको जानकारी दिइन् ।