काठमाडौं । संघीय संसद सचिवालयको महासचिवमा पद्मप्रसाद पाण्डेय नै नियुक्त हुने भएका छन् । मंसिर २५ गते तत्कालीन महासचिव भरतराज गौतमले राजीनामा दिएपछि राष्ट्रिय सभाका सचिव पाण्डेलाई महासचिव नियुक्तिका लागि सिफारिस गरिएको थियो ।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पाण्डेयलाई महासचिव नियुक्तिका लागि मंसिर २४ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । तर राष्ट्रपति पौडेलले अतिरिक्त र अनावश्यक सक्रियता देखाएर रोकेर राख्नु भएको छ । अब केही दिनमै पाण्डेयलाई महासचिव नियुक्तिका लागि राष्ट्रपति तयार भएको स्रोतले बताएको छ ।
पाण्डेयलाई महासचिव हुन नदिन केही व्यक्ति सक्रिय रहेका छन् । उनीहरुले पाण्डेयले तीन वटा नागरिक लिएको र जन्म मिति पनि फरक–फरक रहेको भन्दै प्रचारप्रसार गराउने काम भएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा समेत पाण्डेयविरुद्ध उजरी परेको थियो । तर समितिलाई पाल्पा जिल्ला प्रशासन कार्यालयले पठाएको कागजात र अभिलेखबाट पाण्डेयलाई नागरिकता र जन्ममितिको विवादमा अनावश्यक तान्न खोजेको प्रष्ट हुन्छ ।
२०७५/११/३० गते पाण्डेयले नै आफ्नो पुरानो नागरिकता भेटिएकाले प्रतिलिपि खारेज गरि पुरानै कायम गर्दिन पाल्पा जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिएका थिए । साथै पाण्डेले प्रतिलिपिमा आफ्नो जन्ममिति त्रुटि भएकाले सच्याइदिन पनि आग्रह गरेका थिए । पाण्डेयको आग्रह अनुसार नै पाल्पा जिल्ला प्रशासन कार्यालयले २०७६/५/२३ मा नागरिकता ऐन २०६३ को दफा १२ नागरिकता प्रमाणपत्र रद्द गर्ने व्यवस्था, नेपला नागरिकता नियमावली, २०६३ को दफा १२ (ख) को व्यवस्था एवं नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ को परिच्छेद ६ दफा ३४ को ३ मा भएको व्यवस्था अनुसार प्रतितिलिपि खारेज गरि २०४६/३/२८ मा लिएको नागरिकता प्रमाणपत्र नम्वर ३५ नै कायम गरिदिएको थियो ।
पाल्पाका पाण्डेयले २०४६ साल असार २८ गते ३५ नम्बरको नागरिकता लिएका थिए । नागरिकतामा उनको जन्ममिति २०२६ असोज १५ गते उल्लेख छ । तर नागरिकता हराएपछि उनले २०६६ साल भदौ ८ गते प्रतिलिपिका लागि निवेदन दिएको थिए । जिल्ला प्रशासन कार्यालयले द्वन्द्वकालमा भएको घटनाका कारण २०६२ साल माघ १८ गते अघिको सम्पूर्ण अभिलेख जलेर नष्ट भएको उल्लेख गर्दै उनलाई ३९१०११÷१५५ नम्बरको नयाँ नागरिकता दिएको थियो । सो नागरिकतामा उनको जन्ममिति २०३२ साल पुस २६ गते उल्लेख भए छ । तर पछि हराएको नागरिकता भेटिएपछि पाण्डेयले दिएको निवेदन अनुसार जिल्ला प्रशासन कार्यालयले २०७६/५/२३ गते पुरानो नागरिकता (३५ नम्वरको) कायम गरिदिएको थियो ।
जसले गर्दा उनले दुई वटा नागरिक लिएको र जन्म मिति फरक फरक रहेको भनेर प्रचार गर्नु गलत भएको प्रष्ट हुन्छ ।
राष्ट्रिय सभाको निर्वाचन पनि सम्पन्न भएको र कार्यविधिगत अन्योल पनि हटेको भन्दै अब पाण्डेलाई नै नियुक्त गर्ने निष्कर्षमा शीतल निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । यसअघि सिफारिस लामो समय अलपत्र परेपछि सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले ताकेतास्वरूप राष्ट्रपति पौडेललाई स्मरण पत्र पनि लेखेका थिए भने गत मंसिर २७ गते संसद् सचिवालयको कार्यवाहक महासचिव बनाएका थिए ।
संविधानको धारा १०६ मा प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को महासचिव नियुक्त गर्ने व्यवस्था छ । राष्ट्रपतिसँग यस्ता सिफारिस अस्वीकार गर्ने वा निर्णयविहीन राख्ने संवैधानिक अधिकार नभएको निष्कर्षका साथ अबको केही दिनमै नियुक्त गर्ने निष्कर्षमा शीतलनिवास पुगेको बुझिएको छ ।
यही माघ २२ गते सरकारको सिफारसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदको अधिवेशन आव्हान गर्नु भएकाले पनि महासचिवको नियुक्त तत्काल गर्नुपर्ने आवश्यकता देखिएको छ ।