काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बोलाएको हो ।
पूर्वमन्त्री समेत रहेका बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेज उपचारका क्रममा सोमबार राति ८० वर्षको उमेरमा निधन भएको थियो ।
‘सेतो बाघ’ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिकाका बासिन्दा बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए ।
नेता बुढाथोकी सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भइसकेका थिए ।
बुढाथोकीका दुई छोरा र एक छोरी छन् । नेता बुढाथोकीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज झापा जिल्ला पार्टी कार्यालयमा राखिने बताइएको छ । उनको पार्थिव शरीरलाई कन्काई धाममा अन्त्येष्टि गर्ने तयारी छ ।
यसैवीच केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ ।
यसको औपचारिक निर्णय केन्द्रीय समितिको आकस्मिक बैठकले गर्ने छ । समुदायमा कांग्रेस अभियान यही माघ १६ गतेदेखि सुरु भएको थियो । त्यसका लागि माघ १३ गतेदेखि नै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि र सातै प्रदेशमा शीर्ष नेताहरु खटाइएको थियो ।




















