काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर भएका नेता बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेज उपचारका क्रममा सोमबार राति ८० वर्षको उमेरमा मृत्यु भएको हो ।
हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी झापाको भूमिमा उनको ठूलो रिक्तता अनुभूति हुने नेताहरुले बताएका छन् ।
नेता बुढाथोकी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए । पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए ।
‘सेतो बाघ’ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिकाका बासिन्दा बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए ।
नेता बुढाथोकी सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भइसकेका थिए ।
बुढाथोकीका दुई छोरा र एक छोरी छन् । नेता बुढाथोकीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज झापा जिल्ला पार्टी कार्यालयमा राखिने बताइएको छ । उनको पार्थिव शरीरलाई कन्काई धाममा अन्त्येष्टि गर्ने तयारी छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढाथोकीको निधनको खबरले निकै मर्माहत भएको भन्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।