काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले पछिल्लो समयमा बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका आक्रमण, दुर्व्यवहार र स्वास्थ्य संस्थाहरूमा तोडफोडका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले चिकित्सक माथिका आक्रमण तथा कुटपिटका घटना बन्द गर्न र अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन पनि आग्रह गरेको छ ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कास्की, मकवानपुर, लमजुङ, चितवन जिल्लालगायतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकमाथि भएका आक्रमण, दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा भएको तोडफोड एवम् चिकित्सकहरूले आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्य उपचारमा पर्न गएको असरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
चिकित्सक माथि भएका आक्रमण, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीले भोग्नु परिरहेको समस्याको आयोगले विभिन्न माध्यमबाट निरन्तर अनुगमन गरिरहेको गरिरहेको पनि आयोगले जनाएको छ । बिरामीका आफन्तले उपचारमा संलग्न चिकित्सकहरू आक्रमण गर्ने घटनाको आयोगले अनुगमन भइरहेको उल्लेख गरेको छ ।