काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ४८२ जना कैदीको बाँकी कैद सजाय माफी मिनाह गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा गणतन्त्र दिवस २०८० का अवसरमा ७ जना ज्येष्ठ नागरिक र अन्य ४७५ गरी कूल ४८२ जना कैदीको बाँकी कैद सजाय मिनाह गर्नुभएको हो ।
सजाय मिनाह पाउनेहरूमा डाका चोरी,ठगी बहुविवाह कतर्व्य ज्यान वैदेशिक रोजगार कसुरलगायतमा जेलजीवन बिताइरहेकाहरू छन् ।
कैद कट्टा गर्ने प्रयोजनका लागि कैदको न्युनतम ५० प्रतिशत कैद भुक्तान गरेकाहरूलाई कैदी मिनाह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
गृहमन्त्रालयले कैद भुक्तान गरेकामध्ये कागजपत्र छानबिन गरी उपयुक्त देखिएकाको कैद कट्टाका लागि सिफारिस गरेको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिपरिषद्को मिति २०८०/२/१२ को बैठकको सिफारिसमा मिति २०८०/२/१५ गते देखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बूसमेतका ४७५ (चार सय पचहत्तर) जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका ७ (सात) जना गरी कुल जम्मा ४८२ (चार सय बयासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी भएको छ।’




















