काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ ।
आईतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो ।
बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले जेठ ४ गते को बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागि हुने तयारी भएको बताए ।
उनले संसदभित्र रहेका दलहरुको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताए ।
नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताए । उनले सकेसम्म सोमवार (भोलि) नै समितिको बैठक बोलाउन जोड गरिएको उल्लेख गरे । उनका अनुसार संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले नियमावली संशोधनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने कुरा पनि भएको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले समितिको बैठक बस्न कुनै समस्या नभएको बताए । उनले प्रतिनिधि सभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न ३ दिन अगावै सभामुख कहाँ पुग्नुपर्ने र सो प्रश्नहरु प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको उल्लेख गर्दै इच्छुक १५ जना सदस्यहरुले प्रश्न सोध्न पाउने पनि स्पष्ट पारे ।
उनले संसदीय समितिहरुको बैठक भोलि(सोमवार) नै बस्न सक्ने बताए ।




















