काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनालाई शून्य बनाउन नसकिने तर न्यून भने गर्न सकिने बताउनुभएको छ ।
गृह मन्त्रालयमा आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले त्यसका लागि सबै निकायबीच सामूहिक प्रयासको खाँचो रहेको औँल्याउनुभयो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहनुभएका उहाँले भन्नुभयो, “विपद्लाई शून्य बनाउन सकिन्न, न्यून गर्न सक्छौँ, त्यसका लागि अगाडि नै सही व्यवस्थापन गर्नुपर्छ, सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था छ ।” उहाँले यथास्थिवादी सोचले मात्रै काम गर्न नसकिने स्पष्ट पार्नुभयो ।
उहाँले विपद् जोखिम व्यवस्थापनको तयारीमा कमी भएको गुनासा रहेकाले आवश्यक पूर्वतयारीलाई प्रभावकारी बनाउन सरोकार राख्ने मन्त्रालय र निकायका अधिकारीहरूको ध्यानाकर्षण गराउनुभयो । “भएका निर्णय ठिक ढङ्गले कार्यान्वयन नभएर वा तयारी नपुगेर विपद् व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआओस्”, बैठकले उहाँले भन्नुभयो ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले विपद्लाई समयमै व्यवस्थापन गर्न ध्यानाकर्षण गराउँदै स्वास्थ्य मन्त्रालयले गर्ने तयारीमा कुनै कमी हुन नदिने पनि प्रतिबद्धता जनाउनुभयो ।
आगलागी तथा वन डढेलोले मानव, वन्यजन्तु तथा वातावरणमा ठूलो असर गरिरहेकाले आगो लगाउनेलाई कडा कारबाही गर्न र उपभोक्ता समितिलाई थप सक्रिय बनाउनुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।
बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले विपद्को पूर्व सूचना प्रणाली र पूर्वानुमानलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले विपद् जोखिम न्यूनीकरणका लागि पूर्व तयारी नै महत्वपूर्ण कुरा रहेको उल्लेख गर्दै आवश्यक बन्दोवस्तीमा चुस्त र पारदर्शी बनाउन पनि आग्रह गर्नुभयो ।
मुख्य सचिव शंकरदास बैरागीले विपद् व्यवस्थापन कार्य योजनालाई विस्तृतरुपमा तयार पारेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । विपद् व्यवस्थापन विज्ञ गङ्गालाल तुलाधरले विपद्बाट प्रभावितहरूका लागि तत्काल राहत दिने व्यवस्था मिलाउन जरुरी छ भन्नुभयो । रासस




















