काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा बोल्ने बताएका छन् ।
बिहीबार पार्टी कार्यालय च्यासलमा पार्टी केन्द्रीय कमिटीको पाँचौं केन्द्रिय बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
१ लाख भुटानी शरणार्थीलाई अमेरिका पठाइँदा ३०० जना नक्कली शरणार्थीलाई घुसाइएको बताउँदै उनले ३०० जना नक्कली शरणार्थी घुसाइएको जानकारी आफूले पाएको र त्यसबारेमा संसद्मा बोल्ने बताए ।
संयुक्त राष्ट्रसंघको संलग्नतामा अमेरिका पठाइएका भुटानी शरणार्थी सबै सक्कली नभएको उनको भनाई थियो। त्यस विषयमा अब जेठ ४ गतेको संसद् बैठकमा आफूले तथ्य र प्रमाणसहित बोल्ने अध्यक्ष ओलीले बताए ।
भ्रष्टाचार प्रकरणमा एमालेका नेताहरु र एमालेको सरकारमा रहेकाहरुको मात्र नाम आएको भन्दै अध्यक्ष ओलीले जोसुकैको नाम आए पनि दोषी भए कारबाही गर्नुपर्ने बताए । तर, अदालतले दोषी सावित गर्नुअघि कसैलाई पनि दोषी आंशका गर्न सकिए पनि दोषी नै ठहर गर्न नसकिने उनको भनाइ छ ।
साथै ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई अहिले नै दोषी र फरार करार गर्न नसकिने बताए ।




















