काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रबिरोधी कामहरु गरिरहेको आरोप लगाएका छन् ।
आईतवार इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्रीले लगातार जनबिरोधी र राष्ट्रबिरोधी कामहरु गरिरहेको आरोप लगाउँदै जनताका बीचमा लगेर ती कामहरुलाई उजागर गर्न जरुरी रहेको बताए ।
उनले विश्वकप लिग टु क्रिकेटको आफ्नो अन्तिम खेलका क्रममा प्रधानमन्त्रीका रुपमा दर्शक बनेर कीर्तिपुर खेल हेर्न पुग्दा प्रधानमन्त्रीबिरुद्ध नाराबाजी लागे पनि प्रधानमन्त्रीलाई त्यसको लाज नलागेको बताए । उनले देशमा यसअघि अत्याचार, शोषण, महंगी र बेराजगारी यति धेरै नरहेको उल्लेख गर्दै गणतन्त्रपछिको समाजवादउन्मुख व्यवस्थाले झनै विसंगति पैदा गरेको आरोप लगाए । उनले सत्तामा रहेको माओवादी र बिद्रोही माओवादीबीच कार्यगत एकताको प्रयास भए पनि सफल नभएको बताए । उनले माओवादीहरु डराएर एकजुट भए भन्ने कुरा गलत रहेको बताए । उनले अहिले पनि माओवादीहरु एक ठाउँमा नरहेको स्पष्ट पारे ।
नेता गजुरेलले जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा सजाय गराउने पक्षमा अदालत रहेको बताए । उनले १६ वर्षसम्म त्यो प्रक्रियाबाट न्याय दिन नसकेपछि अब जनयुद्धका मुद्दाहरु अदालतले फैसला गर्ने योजनाअनुसार अघि बढिरहेको बताए । उनले माओवादीहरुको नेतृत्वले विश्वासघात गर्दा सबै माओवादीहरु अहिले दुरावस्थाबाट गुज्रिनुपरेको बताए । उनले जनयुद्धमा भएका घटना अदालतले हेर्नेगरी योजना बनाइएको पनि बताए ।
नेता गजुरेलले जनयुद्धमा भएका घटनाहरुमा माओवादीलाई दोष लगाइ अपराधीकरणको फैसला सुनाउने योजना रहेको आरोप लगाए ।




















