काठमाडौँ । निर्वाचन आयोगले आइतबार उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दैछ । आगामी ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि शनिबार चार जनाको उमेदवारी दर्ता भएको छ।
मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध परेका उजुरीउपर जाँचबुझ गरि आजै साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यसूची छ ।
उपराष्ट्रपति पदका उमेदवार जसपाका रामसहायप्रसाद यादवविरुद्ध एमाले र जनमत पार्टीले उजुरी दिएका छन् ।
राष्ट्रपति पदमा पुरुष निर्वाचित भइसकेको भन्दै एमाले र जनमत पार्टीले यादवको उमेदवारी खारेजको मागसहित उजुरी दिएका हुन् ।
राष्ट्रपति र उपराष्ट्रपति छुट्टाछुट्टै लिंगको हुनु पर्ने संवैधानिक प्रावधान रहेको एमाले र जनमत पार्टीको दावी छ ।
यादवसँगै जसपाबाट प्रमिला यादवको पनि उमेदवारी परेको छ। रष्ट्रिय जनमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन् । आठ दलीय सत्तागठवन्धनमा सहमति हुन नसक्दा तीन जनाको उम्मेवारी दर्ता गरिएको छ । आज सहमति जुटाएर दुई जनाको उम्मेदवारी फिर्ता गरिने एक नेताले बताएका छन् ।
यसअघि सत्तारुढ गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भइसकेका छन् । उनले भोलि कार्यभार सम्हाल्ने भएका छन् ।



















