काठमाडौँ । आइतबार उच्च अदालतबाट सफाई पाएपछि अभिनेता पल शाह जेलबाट छुटेका छन् । तनहुँ कारागारबाट छुट्दा पललाई उनकी बहिनीले बुझेकी हुन ।
कारागारबाहिर पलका समर्थक तथा आफन्त ठूलो संख्यामा जम्मा भएका थिए ।
जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगको कसुरमा पललाई अढाई वर्ष कैदको फैसला गरेको थियो । तर त्यसलाई उच्च अदालत पोखराले बदर गर्दै सबै अभियोगबाट सफाइ दिएपछि एक वर्षदेखि थुनामा रहेका पल आज छुटेका हुन् ।
जाहेरी परेको चार दिनपछि पल २०७८ फागुन १५ गते तनहुँ प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।
कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’
कारागार बाहिर उभिएका फ्यानलाई हेरेर अभिवादन गरेका उनी खुसी देखिन्थे । पलनिकटस्थका अनुसार पल आज पोखरा बसेर भोलि मात्र काठमाडौं आउने भएका छन् ।
काठमाडौं एयरपोर्टमा भव्य स्वागत गर्ने तयारीमा उनी निकट फिल्म र संगीतकर्मी रहेको बताइएको छ ।


























