काठमाडौँ । झण्डै तीन दशकयता निरन्तर ‘मानवताका लागि सेवा’ गरेबापत नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गरेका छन् ।
मंगलबार राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले १ मिलियन डलर राशि(झन्डै १४ करोड रुपैयाँ)को पुरस्कार तथा सम्मान डा. रुइतलाई प्रदान गरेका हुन् ।
राजा हमाद बिन इशा अल खालिफाले ‘लोकहितकारी कामका अर्थमा डा रूइतले सबैभन्दा योग्य, अमूल्य र प्रभावकारी काम’ गर्दै आएको बताए ! इशा अवार्ड कमिटीका अधयक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले पनि डा रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको बताए ।
आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित यो सम्मान हरेक दुइ वर्षमा र ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै कोही व्यक्ति/संस्थालाई प्रदान गरिँदै आएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रुइतले ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो । ‘यो घडी म तिलगंगा प्रतिष्ठानका हरेक सदस्यलाई उनीहरुको स्तुत्य सेवालाई धन्यवाद दिन चाहन्छु । यो काममा जुटेका मेरा अन्तर्राष्ट्रिय तहका सहयोगी र साझेदार द फ्रेड होलोज फाउन्डेसन, हिमालयन क्याटाराक्ट प्रोजेक्ट र तेज कोहली एण्ड रुइत फाउन्डेसनलाई यो क्षणमा म सम्झन चाहन्छु । र, आँखा उपचारमा आएका मेरा सम्पूर्ण बिरामीहरुमा म यो सम्मान अर्पण गर्न चाहन्छु’,डा.रुइतले संक्षिप्त प्रतिक्रिया दिँदै भनेका छन् ।