काठमाडौं । शुक्रबारको प्रदर्शनअन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘हृयारी कि प्यारी’ प्रदर्शन हुने भएको छ । जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको हो ।
डा. भोला रिजालको निर्माण एवं उनका छोरा डा. कपिल रिजालको लेखन एवं निर्देशन रहेको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेललगायत शीर्ष भूमिका रहेका छन् । चलचित्रको मंगलबार राजधानीमा प्रिमियर शो गरिएको थियो । प्रिमियरमा आगन्तुक चलचित्रकर्मीबाट राम्रो प्रतिक्रिया पाएको थियो । डा.भोला रिजाल दुई दशकपछि यसै चलचित्रमार्फत निर्माताका रुपमा आएका छन् ।
चलचित्रमा अभिनेत्री रेखा थापाको विशेष भूमिका रहेको छ । डा.कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा रिजाल स्वयंको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरिराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् ।
दन्त चिकित्सक डा.कपिल रिजालले यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् । चलचित्रमा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुसालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जलि जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी छ । सुदीप बरालको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।