काठमाडौँ । गायक भीम पौडेलको आफ्नै निवास स्याङ्जामा निधन भएको छ । नेपाली लाइभ दोहोरीको क्षेत्रमा निक्कै लोकप्रिय रहेका पौडेल केहि समयदेखि गाउँमै गएर बसेका थिए । केही समयबाट डिप्रेसनमा परेका उनको रक्तअल्पताका कारण निधन भएको बताइएको छ ।
कामप्रति चासो दिन छोडेका भीमले एक महिनाअघि कृष्ण कँडेलको इन्द्रेणी कार्यक्रममा गएर एउटा गीत रेकर्ड गराएका थिए । भीमको मृत्युको खबरपछि स्याङजा पुगेका कँडेलले दोहोरी क्षेत्रले अर्को क्षमतावान गायक गुमाउनु परेको बताएका छन् ।
२ महिनादेखि राम्रोसँग नखाने, एकोहोरो हुने जस्ता उनको त्यो शैलीले परिवार निकै चिन्तित थिए ।
२०४१ सालमा स्याङजाको पुतली बजारमा जन्मिएका भीमले २ वर्षको उमेरमा बुवा गुमाएका थिए । उनकी आमा अहिले ७८ वर्षकी भइन् । उनका ५ जना दाजु र ४ जना दिदी छन् । उनी परिवारको कान्छो छोरा थिए ।
पछिल्लो समय गीत गाउन आएका अफर आफूलाई सन्चो छैन भन्दै टार्ने गरेको भीमसँग थुप्रै दोहोरीमा स्वर मिसाएका गायक रबिन लामिछानेले बताएका छन् । भीम र रबिन निक्कै मिल्ने साथी हुन् । भीमको अन्तिम संस्कारका लागि पोखरा पुगेका रबिनले आफूलाई पनि साथीले केहि कुरा शेयर नगरी गएको बताएका छन्।
अहिले डिप्रेसन भएको थियो भन्ने कुरा बाहिर आएपनि आफूले दुई महिना अघिसम्म भेट्दा उहाँको हाउभाउ हेरेर त्यस्तो नलागेको लामिछानेले बताएका छन् ।
काम विशेषले मुस्ताङ पुगेका रबिन भीमको मृत्युको खबर पाएसँगै पोखरा आएर उनको अन्त्येष्टिमा सरिक भएका छन् । भीमको आजै पोखराको राम घाटमा अन्तिम संस्कार गरिएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले भीमको निधनले नेपाली लोकदोहोरी क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन् ।
गायिका सिर्जु अधिकारीसँग केही दिनअघि भएको कुराकानीमा पौडेलले आफूलाई हिंडडुल गर्न गाह्रो भएको र रगतको कमीले शरीर सुक्दै जान थालेको बताएका थिए । ‘मैले इन्द्रेणी कार्यक्रममा जाऊँ भनेको थिएँ । उहाँले बिरामी छु भन्नुभएको थियो,’ अधिकारीले भनिन् ।