काठमाडौँ । झरना थापाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘भागवत गीता’मा सुहाना थापाको जोडी अभिनेताका रुपमा धिरज मगर चयन भएका छन् । फिल्मकी निर्देशक झरना थापाले धिरज फिल्ममा अनुबन्धित भएको फेसबुकमार्फत जानकारी दिएकी हुन् ।
केहीअघि फिल्ममा सुहानाको जोडीको रुपमा धिरज नै हुने चर्चा चलेको थियो। तर, पारिश्रमिकमा कुरा नमिलेपछि निर्माण टिमले अभिनेताको लागि अडिसन समेत खुला गर्न पुग्यो। तर, अन्तत: धिरज नै फिल्मका लागि फाइनल भएका हुन्।
स्रोतका अनुसार मंसिर ९ गतेदेखि छायांकनमा जाने योजनामा रहेको यो चलचित्रमा अभिनेत्री सुहानासँग सुहाउँदो अभिनेता नभेट्दा ढिलो भएको थियो ।
सुहाना इन्टरटेनमेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा अन्य कलाकारहरू भने खुलाइएको छैन। अब चाडै छायांकन हुने फिल्म ‘भागवत गीता’ आगामी वैशाख १ मा रिलिज गर्ने घोषणा गरिएको छ।