काठमाडौं । नेपालका हाँस्यकलाकार महादेव त्रिपाठीले दार्जिलिङमा एकल प्रस्तुत गरेका छन् । ज्वाला इन्टरनेन्टमेन्टले आयोजना गरेको ‘दार्जिलिङ–सिक्किम कमेडी नाइट’ कार्यक्रममा त्रिपाठीले हास्यव्यङ्ग, नृत्य, गीत, जादुलगायतका प्रस्तुतिमार्फत त्यहाँका दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएका थिए ।
कात्तिक १५ गते नेपाली भाषीको वाहुल्य रहेको दार्जिलिङमा आयोजित हजारौ दर्शकको उपस्थिति रहेको कार्यक्रममा त्रिपाठीले वजेड प्रस्तुति दिएका थिए । सांस्कृति कार्यक्रममा स्थानीय कलाकारहरुले पनि विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए ।
त्रिपाठीले नेपालको राष्ट्रिय झण्डा सहितको नृत्यमा दर्शकसमेत सँगै नाचेका थिए । नेपाल चिनाउने उदेश्यले आफुले जुनै देशको कार्यक्रममा पनि नेपाली झण्डासहित नृत्य गर्ने गरेको त्रिपाठीले बताएका छन् ।
२०५० सालदेखि निरन्तर हाँस्यक्षेत्रमा सक्रिय त्रिपाठीले टेलिसिरियल काउकुतिदेखि मेरी वास्सै, तितोसत्य, जिरे खोर्सानी, ट्वाक्कटुक्क, घरवेटी बा, गाह्रो छ लगायतमा अभिनय गरेका छन् । हाल उनी चर्चित टेलिसिरियल हल्का रमाइलोमा अभिनय गरिरहेका छन् ।
त्यस्तै मनै त हो नामक ठूलो पर्दाका चलचित्रबाट अभिनय शुरु गरेका त्रिपाठीले आशिर्वाद, अग्नी साक्षी, मायाको चिनोलगायतका अभिनय गरेका छन् । साथै उनी आफैले उनकै निर्माण तथा निर्देशन गरेको चलचित्र जादुगर तथा जोक्करमा हिरोको रुपमा अभिनय पनि गरेका छन् । नेपाली जादुगरको रुपमा चर्चित कलाकार त्रिपाठीले पछिल्लो समय हाँस्यव्यंग्यलाई बढी प्राथमिकता दिँदै आएका छन् ।
त्रिपाठीले हाल मेगा टेलिभिजनमा ‘हरहर महादेव, घरघर महादेव’ नामक लाइभ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यो कार्यक्रम हरेक साँझ प्रशारण हुने गरेको छ ।