काठमाडौँ । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका छन्।
सोमबार मिश्रले विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा पत्र लेख्दै आफूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको बताएका हुन् ।
उनले सोमबार राति करिब ९ बजेतिर सामाजिक सञ्जालमा लेख्दै पार्टी अध्यक्ष समक्ष राजीनामा पत्र पेस गरेको जानकारी दिएका छन् ।
नरम संवर्द्धनवादी राष्ट्रवादी शक्ति निर्माणका लागि राजनीतिक ध्रुविकरण गर्ने आफ्नो प्रयासले सार्थकता पाउन लागेको उनले बताएका छन् ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले विवेकशील साझाको एउटा घटकसँग पार्टी एकता गर्ने औपचारिक निर्णय गरेको थियो ।
पूर्वअध्यक्ष रवीन्द्र मिश्रको समूहसँग लामो समयदेखिको छलफललाई आजै राप्रपाले टुंगोमा पुर्याएको हो ।
आज बसेको कार्यसम्पादन समितिको बैठकले मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाउँदै पार्टीमा स्वागत गर्ने निर्णय गरेको छ। सम्भवतः भोलि नै दुई पक्षबीच सम्झौता हुने छ ।
यसअघि मिश्रलाई अध्यक्षभन्दा दोस्रो वरियतामा रहने गरी सहअध्यक्ष बनाउने प्रस्ताव गरिएको थियो । तर, राप्रपाभित्र त्यसमा सहमति हुन सकेन । अहिले वरिष्ठ उपाध्यक्ष बनाउन भने सबैजना तयार भएका छन् ।




















