काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि बलिदान दिन आफू तयार रहेको बताएका छन् ।
पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघको प्रचार भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले ५० वर्ष अगाडिको वैश निकालेर अधिनायकवाद विरुद्ध लड्न तयार रहेको बताए ।
गठबन्धन सरकारले अधिनायकवाद लाद्न खोजेको भन्दै उनले देश, जनता, राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि अहिले पनि आफूभित्र २०-२२ वर्षे जोश,जाँगर र संकल्प रहेको बताए ।
एकपटक आफूले मेरो जुँगा कालै छ युवै छु भनेर भन्दा त्यसलाई लिएर २-४ महिना अनेक टिकाटिप्पणी भएको बताए । उनले भने, ‘मेरा जुँगा अझै कालै छन्, मैले कालो घसेको होइन भन्दा कोही-कोही आत्तिए, मैले जुँगा कालो छ भन्दा २-४ महिना त्यही जुँगाका पछाडि कुँदे, म आज पनि भन्छु- लोकतन्त्रको रक्षाका लागि अधिनायकवादका विरुद्ध लड्नका लागि म ५० वर्ष अघिजस्तै छु, आवश्यक पर्यो भने ५० वर्ष अगाडिको वैंश निकालेर अधिनायकवाद विरुद्ध लड्न म अहिलेपनि तयार छु, ५० वर्ष अघिकै जोश जाँगर मसँग छ, मेरो पार्टीसँग छ ।’
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दिएको सुरक्षा सरकारले खोसेको भन्दै अध्यक्ष ओलीले त्यो काम अधिनायकवादको पराकाष्टा भएको बताए ।
आफूले कसैको पक्ष नलिएको भन्दै उनले गठबन्धन सरकारले गरेका गैरकानुनी र अधिनायवादी कामको विरोध गरेको स्पष्ट पारे ।
अध्यक्ष ओलीले लोकतान्त्रिक गतिविधि गर्न सरकारलाई सचेत पनि गराए । उनले प्रश्न गरे- ‘एक दुई जनालाई लहड चल्यो भने लोकतान्त्रिक अभ्यास मिचेर गैरकानुनी ढंगले चल्न पाइन्छ ? जे मन लाग्यो त्यही गर्न पाइन्छ ?’