काठमाडौं । सत्ता गठबन्धनका शीर्ष तहका नेतासहित सिट बाँडफाँट कार्यदलको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।
सत्ता गठबन्धनका दलहरु प्रत्यक्षतर्फको सीट भागबण्डामा सहमति जुटाउन पुनः छलफलमा व्यस्त भएका हुन् ।
सोमबार समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाएका सत्ता गठबन्धनका दलहरुले प्रत्यक्षतर्फको भागबण्डाका लागि छलफललाई पुनः निरन्तरता दिएका हुन् ।
२० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो ।
११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् । कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।