काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले नागरिकतालाई सस्तो नबनाउन संसदको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विश्वका अधिकांश देशमा नागरिकलाई सस्तो बनाउने कुरा नरहेको उल्लेख गर्दै छिमेकी देशहरुबाट सिकेर भए पनि नागरिकताको विषयमा गम्भीर छलफल हुन आवश्यक रहेको बताएका हुन् ।
उनले हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत भएको पनि बताए । उनले सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जान नहुने बताए ।
सांसद बाँस्कोटाले नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिङ्ग हेरेर दिने कुरो नरहेको बताए । उनले संविधान बमोजिम नै राष्ट्रपतिले नागरिकता विधेयक सदनमा पुनः सुधार्नका लागि पठाएको बताए ।
उनले यदि राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको पत्र गलत भए च्यातेर देखाउन सत्तारुढ दलका सांसदहरुलाई चुनौती दिए ।
सांसद बाँस्कोटाले सत्तापक्षले प्रतिपक्षले रङ फेरेको आरोप लगाएको भन्दै रङ प्रतिपक्षले नभई सत्तापक्षले नै फेरिरहेको दाबी गरे ।

























