काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार गृहजिल्ला झापा जाने भएका छन् ।
आगामी मंसिरका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै एमाले अध्यक्ष ओलीको गृहजिल्ला र निर्वाचन क्षेत्रको भ्रमण बाक्लिएको हो ।
अध्यक्ष ओली साउनको दोस्रो साता चार दिन झापा बसेर राजधानी फर्किएका थिए । अध्यक्ष ओली बिहीवार पुनः तीनदिने झापा बसाइको कार्यक्रम बनाएर गृहजिल्ला जाने भएका हुन् ।
बिहीवार विहान अध्यक्ष ओली झापाको बनियानीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको एमाले प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य बसन्त बानियाँले बताए ।
झापा गएपछि सो कार्यक्रमलाई सम्बोधन गरी अध्यक्ष ओली आफ्नो गृहनगर तथा निर्वाचन क्षेत्र दमकमा बस्ने कार्यक्रम रहेको छ । यस्तै भदौ ३ गते शुक्रवार अध्यक्ष ओलीले क्षेत्र नं ५ का विभिन्न समुदायहरुलाई अलगअलग भेटघाटको कार्यक्रम तय गरिएको छ ।
गत साउनको ११ देखि १४ गतेसम्म झापा भ्रमणमा भेटघाटको समय नमिलेका विभिन्न संघसंस्था र समुदायलाई अलगअलग भेटघाटको कार्यक्रम राखिएको हो ।
शुक्रबार नै गौरादहमा पनि विभिन्न क्षेत्र र वर्गका व्यक्ति र समूहसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
एमाले झापाका अनुसार भदौ ४ गते विर्तामोडमा आयोजना गरिएको अखिल नेपाल महिला संघ झापाको जिल्ला अधिवेशनको उद्घाटन र इन्जिनियरिङ एशोसिएसनको कार्यक्रमलाई सम्बोधन गरी अधयक्ष ओली राजधानी फिर्ता हुने कार्यक्रम तय गरिएको छ ।

























