काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली (वेस्ट्रन्ली डिस्ट्रबेन्स) को शक्तिशाली प्रभावका कारण भारी वर्षाका कारण देशभर भारी वर्षासँगै हिमपातका कारण जनजीवन प्रभावित भएको छ । देशका अधिकांश स्थानमा वर्षा भएको छ ।
काठमाडौँ लगायत देशमा अधिकांश भागमा वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसै उदयपुरको उत्तरी भेगमा दशकैपछि बाक्लो हिमपात भएको छ । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको पानीसँगै हिमपात भएको हो । हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ ।

उदयपुरको उच्च पहाडी क्षेत्रमा हिउँ परेपछि नजिकको तराई फाटदेखि पहाडी भेगमा चिसो बढेको हो । उदयपुरकै सबैभन्दा अग्लो स्थान रौतामाई गाउँपालिका-१ माझखर्क चित्रेथाम, दोबाटेमा बाक्लो हिमपात भई रहेको स्थानीयवासी सरोज थापा मगरले बताए । उनका अनुसार सामान्य हावाहुरीसँगै हिमपात एकै पटक परेपछि त्यहाँस्थित स्थानीय सर्वसाधरण घरबाट बाहिर निस्कन तथा आवतजावतमा समस्या भएको बताए ।
समुन्द्र सतहदेखि २ हजार ३ सय १० मिटर उचाइमा रहेको चित्रेथानमा दशक यताकै सबैभन्दा बढी बाक्लो हिमपात भएको बताएका छन् । रौतामाई गाउँपालिका वडा नम्बर १ नामेटारको चित्रेथानमा हिउँ परेपछि हिउँ खेल्न विभिन्न स्थानबाट सर्वसाधारण आउने क्रम जारी रहेको मगरले बताए ।

हिउँमा खेल्दै गरेको र हिमपात भइरहेको भिडियो र तस्बिरसमेत टिकटक र फेसबुकलगायतका सामाजिक सञ्जालमा राखेका छन् । चित्रेथान उदयपुरको एक मात्र हिउँ पर्ने ठाउँ हो । हिमपातले यहाँको जनजीवन प्रभावित तुल्याएको छ । मार्भखर्क, चित्रेथाम, दोबाटेमा हिमपात हुँदा चिसोका कारण जनजीवन कठ्याङ्ग्रिन थालेपछि अत्यावश्यक काम बाहेक घरबाट बाहिर नजान पालिकाले आग्रह गरेको छ । हिमपातले वृद्धवृद्धा र बालबालिकालाई तातोमा राख्न, पोसिला र ताता झोल कुरा खुवाउन तथा घरभित्रका कोठामा आगो ताप्दा झ्याल ढोका खोल्न समेत अनुरोध गरिएको छ ।
समुद्री सतहबाट एक हजार सात सय मिटरभन्दा माथिका भागमा हिउँ परेपछि चौँरी गाई, भेंडाबाख्रा लगायत चौपायाको आहारामा सङ्कट परेको छ । हिमपातको असरले गाउँ-समाजमा कुनै समस्या आएमा तुरुन्तै प्रहरीलाई खबर गर्न भनिएको छ । वर्षासँगै भारी हिमपात चित्रे, माझखर्क, रौता, नामेटार लगायतका उच्च भूभागमा हिउँ परेको हो ।

हिउँले चित्रे, माझखर्क, रौता, नामेटार लगायतका उच्च भूभागमा आसपासका क्षेत्र, बस्ती पुरै सेताम्मे बनेका छन् । भारी हिमपातका कारण उच्च क्षेत्रमा पर्ने नामेटार, चित्रेथार र रौताको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै परेको हिमपातको कारण बढेको अत्यधिक चिसोले स्थानीयलाई घर बाहिर निस्कन समस्या परेको नामेटारका स्थानीय बासिन्दा कृपासुर तामाङले बताए ।
यसैगरी लमजुङको उच्च पहाडी भेगमा पुनः हिमपात भएको छ । भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–३ मा रहेको स्मार्ट भिलेज घले गाउँमा बिहीबार साझदेखि भारी हिमपात भएको हो ।
हिमपातका कारण घरबाट बाहिर निस्कन समेत कठिन भएको छ । घलेगाउँसँगै घनपोखरा, नायुमा पनि हिमपात भएको घलेगाउँकी काशी घलेले बताइन् ।
यस्तै लमजुङको बेसीशहर नगरपालिका–१० कल्मेडाँडास्थित पर्यटकीय ठाउँ पिसहिल स्टेसनमा पनि बाक्लो हिमपात भएको छ । कल्मे डाँडामा पनि बिहीबार रातिबाट हिमपात भएको पिसहिलका व्यवस्थापक होमलाल तामाङले बताए ।

घलेगाउँ, पिसहिलसहित मर्स्याङ्दी गाउँपालिकाको हर्सिङडाँडा, सिउरुङ, कालाघिरिङ पुर्वीभेगका दुधपोखरी, बराहपोखरी, मेमेपोखरी लगायतका उच्च पहाडी भेगमा बिहीबार दिउँसोदेखि हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित भएको घनपोखराका कमला गुरुङले बताइन् ।
उता हिमपातका कारण अबरुद्ध सडक सञ्चालन गर्न जिल्ला विपद् समितिले हिउ पन्छाउन थालेको छ । बिहीबारदेखि परेको लगातारको हिमपातले अवरुद्ध भएको जुम्लाको सडक खुलाउन समितिले हिउँ पन्छाउन थालेको हो ।
हिमपातले सडक अवरुद्ध हुँदा जुम्लाको विभिन्न सडकखण्डमा दर्जनौँ सवारीसाधन रोकिएका छन् । हिमपातपछि अवरुद्ध बनेको सडक खुलाउन प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईं नेतृत्वको सुरक्षा निकायसहित टोली ऐरेनी तर्फ लागेको छ ।
प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार डोजरको सहायताले हिउँ पन्छाउँदै नाग्मसम्म पुगिसकिएको छ ।
अझै पनि हिमपात भइरहेकाले केही सवारी साधन फसेका छन् । तातोपानी क्षेत्रमा हिउँमा फसेका सवारी साधनको उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरी बलसहितको एक टोली त्यस क्षेत्रतिर लागेको नन्दाबक्स गणका गणपति रविन थापाले बताए ।
हिमपातले कर्णाली राजमार्गको विर्तामोडमा ठूलो पहिरो गएको छ । पहिरोले यातायात अवरुद्ध भएको छ । जुम्ला विमानस्थलको हिउँ भने पन्छाउन सकिएको छैन ।

त्यस्तै ताप्लेजुङमा चौथो पटक ठूलो हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाईमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो ।
हिमपातले बाटो पुरिएपछि तीर्थयात्रीहरूलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । ‘आज बिहान ३० जना तीर्थ यात्रीहरू पाथीभार मन्दिर क्षेत्र प्रवेश गरेका छन् । हिमपात निरन्तर छ । हिउँले बाटो पुरै छोपिएको छ । बाटो अनुमान गर्दै जानुपर्ने अवस्था छ,’ उनले भने ।
पाथीभरामा जानुभन्दा पनि फकिर्न समस्या हुने गरेको महतले बताए । मन्दिर पुगेर फर्किने समयमा बाटो ओरालो पर्दछ ओरालो बाटोमा हिउँमा चिप्लिने समस्या हुने गरेको उनकाे भनाइ छ । पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात भएको हो ।
यता समुद्र सतहदेखि चार हजार २०० मिटर उचाईमा अवस्थित फक्ताङलुङ गाउँपालिका-७ याङमा तीन हजार ४०० सय मिटर उचाई क्षेत्रका बस्तीहरूमा बिहीबारदेखि हिमपात हुन थालेको छ । हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावित भएको घुन्साका स्थानीय केल्साङ शेर्पाले जानकानरी दिए ।
हिमपातले जनजिवन प्रभावित हुनका साथै पशुचौपायसमेत प्रभावित हुने गरेको घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले जानकारी दिए । समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङचुगोला र फले, ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपात भएको छ । मिक्वाखोला गाउँपालिका-६ तोक्पेगोला र पापुङ बस्तीहरूमा समेत हिमपात भएको मिक्वाखोला गाउँपालिका-६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए ।
हिमपात भएसँगै यता सदरमुकाम फुङ्लिङ बजारमा चिसो बढेको छ । अत्यधिक जाडोले जनजीवन प्रभावितन भएको छ । ताप्लेजुङमा याे वर्ष पहिलो पटक १३ र १४ पुसमा हिमपात भएको थियो । दाेस्रो २९ पुसमा हिमापात भएको थियो । तेस्रो ७ माघमा हिमपात थियो भने अहिले चौथो पटक ताप्लेजुङमा ठूलो हिमपात भएको हो ।

बिहीबार रातिदेखि काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । यो क्रम रातभर रहने मौसमविद्को भनाइ छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । उनका अनुसार दिउँसो जस्तै रातिको अवस्था हुने छ ।
उनका अनुसार भोलि दिउँसोबाट मौसममा केही सुधार हुने सम्भावना रहेको छ ।
‘भोलिबाट मौसममा केही सुधार हुने देखिएको छ’ उनले भनिन्, ‘भोलि मध्याह्नपछि केही सुधार हुन्छ। बादल त लाग्छ, तर वर्षा हुँदैन ।’
त्यसैगरी अविरल वर्षा तथा हावाहुरीका कारण मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ । त्यस्तै हावाहुरीले रुख भाँच्चिएर लाग्दा धनुषामा २ जना र वर्षाका कारण घर भत्किँदा रौतहटमा १ जनाको मृत्यु भएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण घर भत्किँदा घरमा च्यापिएर रौतहटको बौधीमाई नगरपालिका-१ अजगैबी बस्ने ४५ वर्षीया फुलमतिया देवीको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
यस्तै, धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन उच्च माविको प्राङगणमा रहेको भिस (मसाला) को रूख हावाहुरीको कारण भाँच्चिदा रुखमा च्यापिएर २ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रूखमा च्पापिएर सोही ठाउँ बस्ने महेन्द्र सादाकी छोरी ८ वर्षीया प्रतिमा कुमारी सादाको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, गम्भीर घाइते भएका सोही ठाउँ बस्ने चन्देश्वर सादाको छोरा ७ वर्षीय अरबिन्द सादाको उपचारको लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएकाे छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएकाे छ ।
मुगुस्थित ताल्चा विमानस्थलमा हवाइ उडान ठप्प भएकाे छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लाे हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेकाे छैन ।
कर्णालीमा यो तेस्रो पटक हिमपात भएकाे हाे । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएकाे हाे । आज पनि हिमपात भइरहेकाे छ ।

मुगुका प्राय: सबै स्थानीय तह लगायत सदरमुकाम गमगढी बजारमा लगायतका क्षेत्रमा हिमपात भएको छ । जुम्लाका सबै स्थानीय तहका क्षेत्रमा पनि हिमपात भएको छ ।




















