काठमाडौं । कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझैँ मतदाताको टुंगो नलाग्दै माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । प्रचण्ड माओवादीको राजनीतिक इतिहासमा ३४ वर्षपछि फेरि पनि नेकपा माओवादी केन्द्रको अध्यक्षमा निर्विरोध चयन भएका हुन् । ललितपुरको एक रिसोर्टमा सोमबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकबाट ६७ वर्षे प्रचण्ड निर्विरोध अध्यक्ष बने ।
नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा अध्यक्ष प्रस्तावित प्रचण्डलाई दीनानाथ शर्माले निर्विरोध निर्वाचित भएको घोषणा गरे । फेरि पनि अध्यक्ष हुनुलाई प्रचण्डले ‘इतिहासको गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर’को रूपमा अर्थ्याएका छन् ।
विशेष महाधिवेशन नभएको वा राजीनामा नदिएको अवस्थामा प्रचण्डले आगामी पाँच वर्ष माओवादी केन्द्रको नेतृत्व गर्नेछन् ।
तर प्रचण्डले निर्विरोध अध्यक्ष बन्न जस्तो प्रक्रिया अवलम्बन गरे, त्यसप्रति भने माओवादी केन्द्रकै नेताहरूमा असन्तुष्टि चुलिएको छ ।
हरेक नेतृत्वको विकल्प छ । पुरानै दोहोरिए पनि महाधिवेशन प्रतिनिधिहरुले आफ्नो विवेक प्रयोग गर्न पाउनुपर्ने माग माओवादी नेताहरुमा चर्को रुपमा उठेको छ । तर त्यसलाई केही सीमित नेताहरुले स्वीकार गरेनन् र जबर्जस्ती प्रचण्डलाई अध्यक्ष बनेको घोषणा गरे ।
नेतृत्व दोहोरिंदा पनि कार्यकर्ताप्रति जवाफदेही बन्ने अवस्था सिर्जना हुनुपर्ने आवाजलाई कुल्चँदै प्रचण्डलगायतका एक–दुई नेताको बलमिच्याइँमा प्रचण्डलाई निर्विरोध अध्यक्ष घोषणा गरिनुले माओवादीभित्रको बलमिच्याइँलाई प्रष्ट पारेको छ । माओवादीभित्र लोकतन्त्र होइन, ठोकतन्त्र हावी छ भन्ने कुराको प्रमाणलाई थप पुष्टि गरेको छ ।
प्रचण्ड निर्विरोध अध्यक्ष बनिरहँदा माओवादी केन्द्रले आफ्नै विधानको समेत वास्ता गरेन । माओवादीको पदाधिकारी चयन गर्ने अधिकार महाधिवेशन प्रतिनिधिहरूबाट निर्वाचित केन्द्रीय सदस्यलाई दिएको छ । त्यो अधिकारबाट वञ्चित गरिएको छ ।
११ पुसमा कम्युनिष्ट नेता माओको १२८औं जन्मदिवस पारेर शुरू भएको महाधिवेशन समापन गर्दै आइतबार प्रचण्डले एकलौटी ढंगले २३६ केन्द्रीय सदस्यको नामावली वाचन गरे । त्यसमा पनि सहमति भएकै थिएन । माओवादी विधानमा २९९ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ ।
‘अध्यक्ष कमरेडले भनेकै निर्णय लागू गर्ने हो भने पनि प्रक्रिया त अवलम्बन गरिनुपर्थ्यो । कम्तीमा केन्द्रीय सदस्यहरुको नामावली निर्वाचन समितिले घोषणा गरेको भए हुन्थ्यो’, एक नेताले असन्तुष्टि व्यक्त गरे ।
विभिन्न क्लस्टरका आधारमा केन्द्रीय सदस्यको नामावली प्रस्तुत गर्दा प्रचण्डले आफ्नो नाम खुलातर्फ २३औं नम्बरमा राखे ।
राष्ट्रिय महाधिवेशनमा नेता र महाधिवेशन प्रतिनिधिहरुबीच नेतृत्व चयनमा छलफल होस् । प्रतिनिधिहरुले नेतृत्वलाई खबरदारी गर्ने वातावरण बन्न सकोस् भन्ने अपेक्षा विपरीत महाधिवेशन सम्पन्न भएकोमा माओवादीका नेताहरुको तीव्र असन्तुष्टि रहेको छ । प्रचण्डले घोषणा गरेको सूचीमा परेका केन्द्रीय सदस्यहरू महाधिवेशन प्रतिनिधिप्रति जवाफदेही हुनुपर्ने अवस्था सिर्जना हुन नसकेको गुनासो गर्छन् ।
प्रचण्डले १२ पुसमा प्रस्तुत गरेको वैचारिक-राजनीतिक प्रतिवेदनमाथि पाँच दिनसम्म छलफल भएपछि शुक्रबार निर्वाचन समितिले १७४३ महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरेको थियो । अर्थात्, कम्युनिष्टहरुले मान्ने संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको भावना यी प्रतिनिधिहरुले नेतृत्व चयन गर्नुपर्ने हो । तर निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन तालिका तीनपटक स्थगित भयो । निर्वाचन समितिले शुक्रबार रातभर उम्मेद्वारी दर्ता, उजुरी, उम्मेद्वारी फिर्ता, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र मतदानको तालिका सार्वजनिक गरेको थियो । तर नेताहरुको आग्रहमा निर्वाचन समितिले शुक्रबार, शनिबार र आइतबार लगातार निर्वाचन तालिका स्थगित गर्यो । अन्ततः निर्वाचन समितिको प्रयोजन नरहने गरी प्रचण्डले जबर्जस्ती केन्द्रीय सदस्यहरुको नामावली प्रस्तुत गरे ।
विधि र प्रक्रियामा नगई गरिएको नेतृत्व चयन र त्यो संगठनबाट कसरी क्रान्तिकारी पार्टी बन्छ ? कसरी पार्टीमा जागरण आउँछ ? त्यो भने हेर्न बाँकी नै छ ।
माओवादीले यो महाधिवेशनका लागि ‘क्रान्तिकारी पार्टी निर्माण र क्रान्तिकारी विचार विकास गर्ने’ नारा तय गरेको थियो । तर अभ्यास भने नाराअनुसार भएको छैन ।
प्रचण्डले यसअघि अपनाउने गरेकै शैली अनुसार, प्रतिनिधिबाट नभई नेतृत्वबाट नेता चयन भए । माओवादीले अपूर्ण केन्द्रीय कमिटीबाट एकल पदाधिकारी (अध्यक्ष) चयन गरेको छ ।
नेतृत्व चयन गर्न माओवादी केन्द्रले अपनाएको प्रक्रियामाथि नेता कार्यकर्ताले चित्त बुझाउन सकेका छैनन् । प्रचण्डको आदेशलाई ताली बजाऊ भनेर महाधिवेशन समापन गरिएको छ । प्रचण्डको यो शैली लोकतान्त्रिक छैन । यसरी माओवादीले राजनीति गर्न सक्दैन । महाधिवेशनले ‘प्रचण्डपथ’ कै झल्को दिएको छ ।
महाधिवेशनको उद्घाटन सत्र, बन्दसत्र र वैचारिक-राजनीतिक प्रतिवेदनमा समेत प्रचण्डले आफूबाट कमजोरी भएको विवरण नलुकाए पनि महाधिवेशन सकिंदा भने फेरि आफ्नै नेतृत्वको अपरिहार्यता रहेको र अन्तिम पटक नेतृत्व गर्नुपर्ने निष्कर्ष सुनाएबाट माओवादीमा प्रचण्ड नै सर्वेसर्वा हुन् भन्ने विचार अरुबाट प्रस्तुत गर्न लगाइयो ।
प्रचण्डको कमजोरीबारे नेताहरू राम कार्की, हरिबोल गजुरेल र लेखनाथ न्यौपानेले अलग्गै लिखित प्रस्ताव तयार पारे पनि त्यसको सुनुवाइ हुन पाएन । प्रचण्ड खेमाले त्यसलाई अनदेखा गरिदियो । न्यौपानले त माओवादी आन्दोलन र पार्टी यो अवस्थामा पुग्नुको प्रमुख जवाफदेही प्रचण्ड हुनुपर्ने निष्कर्ष नै प्रस्तुत गरे । ‘हामी सबै, मूख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ । तपाइँका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिंदैन । सुनिन्छ त म, मेरो, मैले, प्रचण्डले मात्र’, न्यौपानेले फरक मतका रुपमा दर्ज गरेको आफ्नो प्रस्तावमा लेखेका छन् ।
नेतृत्वमा टिकिरहने र पार्टीमा शक्तिशाली बन्ने प्रचण्डको व्यक्तिकेन्द्रित सोचकै कारण माओवादीको अहिलेको अवस्था भएकोमा कुनै दुईमत छैन ।
अवसरवादी स्वभावका प्रचण्ड नेतृत्वमा अरुलाई देख्न चाहँदैनन् । बरु माओवादी जति नै चोटि विभाजित नै किन नहोस् । त्यसैको परिणति विभाजनको थालनी २०६२ बाटै शुरु भयो । रवीन्द्र श्रेष्ठ र मणि थापाहरुले प्रचण्डपथ भ्रष्टीकरणको दिशामा गएको भन्दै माओवादी छोडे । २९ पुस २०६५ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रसँग माओवादी एकता भएपछि मातृका यादवले अलग पार्टी बनाए ।
यही मेसोमा बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापा, सीपी गजुरेल, नेत्रविक्रम चन्द, देव गुरुङ, पम्फा भुसालहरुले पार्टी छोडेको दृष्टान्त खोज्न धेरै पर जानुपर्दैन ।
गएको वर्ष २३ फागुनमा सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भंग गर्दै एमाले र माओवादी केन्द्र ब्यूँतायो । अहिले पुनर्स्थापित माओवादी केन्द्रले संगठनलाई पुनर्संरचना गर्नुपर्ने थियो, तर महाधिवेशनले त्यो जिम्मेवारीका लागि प्रचण्डकै नेतृत्वलाई निरन्तरता दियो । प्रचण्डले यसलाई अन्तिम अवसर भनेका छन् । तर भविष्यमा पनि उनको अवसरवादी शैली सुध्रिनेवाला छैन ।
अवसरवादी चरित्रका प्रचण्ड फेरि पनि अध्यक्ष बनेका छन् । यसले माओवादीलाई उचाइमा पु-याउनुको साटो रसातलमा पु-याउनेछ । त्यसपछि भने माओवादी केन्द्रलाई दिउँसै बत्ती बालेर खोज्न हिँड्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन । चेतना भया ।