काठमाडौं । सभामुख डिपी अर्यालले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
बुधबार बसेको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएसम्म बैठक सञ्चालन गर्न नदिने अडान लिएपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
विपक्षी सांसदहरूले संसद्भित्र प्रधानमन्त्रीको खोजी गर्दै नाराबाजी गरेका थिए । उनीहरूले प्रधानमन्त्रीको राजीनामासमेत माग गरेका छन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि सुरु गर्ने कार्यसूची रहेको थियो । प्रधानमन्त्रीले दिनुपर्ने जवाफ डा. स्वर्णिम वाग्लेले दिने तयारी गरेपछि विपक्षी सांसदहरूले विरोध जनाएका हुन् ।
सांसदहरूले उठेर निरन्तर अवरोध गरेपछि सभामुख अर्यालले विपक्षी दललाई आफ्नो धारणा राख्ने समय दिएका थिए । त्यसक्रममा संसद्मा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।
यसैबीच प्रधानमन्त्री विनाको वैठक अघि बढ्न नसक्ने भन्दै हर्क साम्पाङ संसद् हलबाट बाहिरिएका थिए । उनले प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन् ।




















