काठमाडौं । नेकपा एमालेका सचेतक ऐन महरले सरकारले पटक–पटक संसद्को हुर्मत लिने काम गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा पनि प्रधानमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठेको बताए ।
उनले प्रधानमन्त्रीको तर्फबाट कुनै जानकारी नदिई अर्का मन्त्रीमार्फत कार्यक्रम टेबल गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाए । “सदनलाई कुनै जानकारी नगराई एक्कासी अर्को मन्त्रीबाट जसरी टेबल गर्ने प्रयास भयो, यो नियमावली, संसद्को नियमावली र संविधानविपरीत छ,” उनले भने ।
महरले संविधानको धारा ७६ को उपधारा १० अनुसार प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसद्प्रति उत्तरदायी रहने व्यवस्था स्पष्ट रहेको उल्लेख गरे ।
त्यस्तै, सांसद गुरु बरालले पनि प्रधानमन्त्रीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिपक्षले उठाएको विषयलाई सत्तापक्षले बेवास्ता गरेको भन्दै उनले असन्तुष्टि जनाए ।
“प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ ? उहाँ कहाँ हुनुहुन्छ ? हाउसले थाहा पाउनुपर्यो,” उनले भने, “यदि आउन नसक्ने उचित कारण हो भने अरू मन्त्रीले जवाफ दिन सक्छन्, तर प्रतिपक्षको भावनालाई सम्बोधन गरिएको छैन ।”




















