काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान टुंगो लगाएको हो । बैठकपछि नेता गणेश पराजुलीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।
यसअघि सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन आयोजना गर्ने प्रस्ताव गरेका थिए । तर केन्द्रीय समितिले एक दिन पछि सार्दै असार ७ देखि ९ गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको जनाएको छ ।
महाधिवेशनको तयारी तथा अन्य समसामयिक एजेण्डामाथि छलफल गर्न पार्टी कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक जारी रहेको छ ।
रास्वपाले यसअघि निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । सो निर्णयअनुसार भदौभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने समयसीमा रहेको थियो । २०७९ सालमा स्थापना भएको रास्वपाले अब पहिलो पटक औपचारिक महाधिवेशन गर्न लागेको हो ।




















