काठमाडौँ । चीनबाट कोरोना भाइरसविरुद्धको आठ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौँ आइपुगेको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज भेरोसेल खोप लिएर आएको एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गरेको नेपाल वायुसेवा निगमका प्रमुख डिम पौडेलले बताउनुभएको छ । सो जहाज हिजो बेइजिङ गएको थियो ।
जेठ १२ गते राष्ट्रपति विद्यादेवि भण्डरीले गरेको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाललाई अनुदानमा दिने घोषणाअनुसार सो खोप नेपालले ल्याएको हो । उक्त खोप चीनको सिनोफार्म कम्पनीले विकास गरेको हो ।
यसअघि आजै हिमालय इयरलाइन्सले २ लाख डोज खोप ल्याएको थियो । चीन सरकारले अनुदानमा दिने १० लाख डोज भेरोसल खोपमध्ये तिब्बत स्वशासित क्षेत्र सरकारले दिने भएको दुई लाख मात्रा खोपमध्ये युनान प्रान्तको राजधानी कुनमिङबाट हिमालय एयरलाइन्सले निः शुल्क नेपाल ल्याएको हो ।
हिमालयले कुनमिङमा गर्ने कार्गो उडानका क्रममा चार खेपमा दुई लाख डोज खोप ल्याउने भएको हो । चार उडानबाट कुल ४१७ वटा बक्स खोप काठमाडौँ ल्याइने हिमालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एउटा उडानमा १०५ बक्स ल्याउने जनाइएको छ ।
पहिलो उडान मङ्गलबार बिहान साढे ६ बजे काठमाडौंमा अवतरण गरेको थियो । यसमा पहिलो लट आएको हिमालय एयरलाइन्सले जानकारी दिएको छ ।
सो ढुवानीबाट सरकारलाई करिब चार करोड रुपियाँ सहयोग पुग्ने एयरलाइन्सले जनाएको छ ।




















