काठमाडौं । सर्वोच्च अदालतले अतिरञ्जित र दुराशययुक्त भ्रामक समाचार प्रकाशन गर्नेहरू कानूनी दायरमा आउन सक्नेतर्फ सचेत गराएको छ ।
केही सञ्चारमाध्यमहरुले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच सोमवार मध्यरातमा भेटघाट भएको समाचार प्रकाशित गरेकोप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्च अदालतले त्यस्ता अनलाइनहरुको नामै किटेर भ्रमपूर्ण र कुत्सित मनसाय राखी समाचार प्रकाशन हुनु दुःखद भएको जनाएको छ ।
सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गर्दै झुठा खबर प्रकाशित हुनु संविधान, कानून र स्वयं पत्रकार आचारसंहिताको समेत प्रतिकूल हुने हुँदा कानूनी दायरमा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउनु भएको छ ।
भ्रमपूर्ण कपोलकल्पित समाचारको भ्रममा नपर्न सर्वोच्चले सवैमा आग्रह समेत गरेको छ । सर्वोच्चले न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहीन, कपोलकल्पित र भ्रामक समाचार सच्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराइएको विज्ञप्तिमा उल्लेख छ ।





















