काठमाडौं । चैत २७ मा प्रदर्शन हुने तयारीमा रहेको नयाँ चलचित्र ‘कृष्ण–लीला’ फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । यसअघि ‘कुनै दिन यस्तो पनि..’ र ‘डियर बन्न मन छ’ बोलका गीतका कारण चर्चामा रहेकोे फिल्मको फस्ट लुकमा अभिनेता पुष्प खड्का भिन्न अवतारमा देखिनुभएको छ ।
दीपक ओली निर्देशित फिल्मको सार्वजनिक पोष्टरले दर्शकमा कौतुहल जगाएको छ । अभिनेता पुष्पलाई मात्र प्रस्तुत गरिएको पोष्टरमा एंग्री बर्डको टिसर्ट लगाएका उहाँको हातमा डटपेनले कोरेको घडी देखिन्छ भने लहराले बनाएको चस्मा पहिरिनुभएको छ । उहाँको यो भिन्न ‘लुक’ र ‘गेटअप’ ले अहिले बजार तातेको छ । पुष्पको ‘लुक’ बारे निर्देशक ओली भन्नुहुन्छ, ‘फिल्ममा केही विशेष अवश्य छ । त्यसका लागि चैत २७ सम्म कुर्नैपर्छ ।’
रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रमा पुष्पका साथमा बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाइं, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायत कलाकारको अभिनय छ । आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुनुहुन्छ भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ अनि सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ रहनुभएको छ ।
आरआर फिल्म प्रोडक्सनले वितरण गर्ने चलचित्र शिव ढकाल र बाबु श्रेष्ठले खिच्नुभएको हो । इलाम, झापा र पाँचथरका विभिन्न स्थानमा खिचिएको चलचित्रको लेखन लक्ष्मण सुवेदी, द्वन्द्व श्री श्रेष्ठ, संगीत अर्जुन पोखरेल र कोरियोग्राफी रामजी लामिछानेले गर्नुभएको छ ।