झापा । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आज दुई जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा मोती पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार गोविन्दचन्द क्षेत्री र ‘केटो’ पत्रकारिता पुरस्कारबाट गीताकुमारी ढुङ्गाना रहनुभएको छ ।
उहाँहरु दुवैलाई नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले क्रमशः नगद रु ५१ हजार र नगद रु १५ हजारले पुरस्कृत गर्नुभएको हो । क्षेत्री ५२ वर्षदेखि निरन्तर पत्रकारिता पेशामा क्रियाशील हुनुहुन्छ । उहाँ हाल ‘दि हिमालयन टाइम्स’ अङ्ग्रेजी पत्रिका झापाबाट समाचारदाताका रूपमा काम गरिरहनुभएको छ ।
केटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत ढुङ्गाना दमकबाट प्रसारित हिमशिखर टेलिभिजनमा आबद्ध हुनुहुन्छ । उहाँले विगत १० वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आउनुभएको छ । पहिलोपटक केटो पत्रकारिताबाट पुरस्कृत हुने उहाँ पहिलो महिला हो ।
महासङ्घले नयाँ सदस्यलाई स्वागत र पुरस्कार हस्तान्तरण कार्यक्रमको आयोजना गरेको थियो । यी दुवै महासङ्घका सम्मानित पुरस्कार हुन् । जिल्ला अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले, महासङ्घकै प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, महासङ्घका संस्थापक महासचिव चन्द्र भण्डारी र पुरस्कृत व्यक्तित्व क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस