काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले महाशिवरात्री तथा सेना दिवस–२०७७ को अवसरमा नेपाली सेनाले प्रकाशन गरेको सामरिक लेखरचनाहरुको संग्रह ‘युनिटी जर्नल’ को दोश्रो संस्करण विमोचन गर्नुभएको छ । सोमबार जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधान सेनापति थापाले सो पुस्तकको विमोचन गर्नुभएको हो ।
बौद्धिक व्यक्तित्वहरुका २९ वटा उत्कृष्ट लेख रचनाहरु समावेश भएको सो जर्नलमा गौरव भट्टराई, फनिन्द्र सुब्बा र महा सेनानी आनन्द सिंह भाटद्वारा लिखित लेखरचनाहरु प्रकाशित छन् । लेखका सर्जकहरुलाई प्रधान सेनापति थापाले क्रमशः नगद पुरस्कार, मोमेण्टो तथा कदरपत्र प्रदान गर्नुभयो । विमोचन कार्यक्रममा अन्य लेखरचनाका लेखकहरुलाई रक्षा सचिव रेश्मी राज पाण्डेबाट नगद पुरस्कार, मोमेण्टो तथा कदरपत्र प्रदान गर्नुभएको थियो ।
उपरथी बालकृष्ण कार्कीको स्वागत मन्तव्यसहित शुरु भएको सो कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार, डिन, प्राध्यापक वर्ग, प्रिन्सिपल, नेपाली सेनाका भूतपूर्व प्रधानसेनापति, इतिहास तथा संस्कृतिविद, नेपाली सेनाका रथीवृन्दलगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
दोस्रो पटक आयोजना गरिएको ‘खुला सामरिक लेख रचना प्रतियोगिता–२०७७’ बाट राष्ट्रका बौद्धिक तथा शिक्षित वर्गमा राष्ट्रिय सुरक्षाका विभिन्न आयामहरुमा खोज र अध्ययन गर्ने बानीको विकास भई राष्ट्रप्रेम तथा राष्ट्रिय सुरक्षा सम्बन्धमा चासो तथा चिन्तन वृद्धि हुँदै जाने विश्वास नेपाली सेनाले लिएको छ ।