काठमाडौँ । प्रहरी प्रधान कार्यालयले बेरुजु फछ्र्यौटमा उत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रहरी अधिकृतलाई आज पुरस्कृत गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फछ्र्याैट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट तुल्याउने कार्यमा योगदान पु¥याउने प्रहरी अधिकृतलाई कार्यालयमा एक समारोहमा रु आठ हजार नगदसहित प्रशंसापत्र प्रदान गर्नुभयो ।
आव २०७६/७७ मा गृह मन्त्रालय मातहतका कार्यालयमध्ये नेपाल प्रहरी ९५.४६ प्रतिशत बेरुजु फछ्र्याैट गरी यसपालि पनि उत्कृष्ट हुन सफल भएको छ । पुरस्कृत हुने प्रहरी अधिकृतहरुमा प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी, प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदार, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी सहायक निरीक्षक बलबहादुर बस्नेत हुनुहुन्छ ।
प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फछ्र्यौैट गर्ने वार्षिक लक्ष्य रहेकामा नेपाल प्रहरीले लक्ष्यभन्दा बढी ९५.४६ प्रतिशत बेरुजु फछ्र्याैट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बेरुजु फछ्र्याैट मापनको वर्गीकरणमा आव २०७३/७४, आव २०७४/७५ र आव २०७५/७६ मा पनि नेपाल प्रहरी उत्कृष्ट बन्न सफल भएको थियो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले मिहिनेतका साथ काम गर्ने प्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्दै यस कार्यमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीको समेत योगदान रहेको स्मरण गर्नुभयो ।




















