काठमाडौं । सर्वोच्च अदालतले चार न्यायाधीशहरूबारे आएको समाचारको खण्डन गरेको छ। शुक्रबार केही अनलाइन सञ्चारमाध्यममा संवैधानिक इजलासका चार जना न्यायाधीशले प्रधानमन्त्री केपी ओलीसँग गोप्य रूपमा भेटेको खबर प्रसारण भएको थियो ।
समाचारमा प्रतिनिधि सभा विघटनको सुनुवाइअघि न्यायाधीशहरू सपना मल्ल, हरिकृष्ण कार्की, मीरा खड्का र दीपक कार्कीले विभिन्न समयमा प्रधानमन्त्रीसँग गोप्य रूपमा भेटेको उल्लेख गरिएको ।
उक्त खवर झुठो भएको बताउँर्दै सर्वोच्च अदालतले विज्ञप्ति जारी गरी भनेको छ, न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्नेगरी मिथ्यापूर्ण, भ्रामक, अतिरञ्जित, असत्य र कपोकल्पित समाचारम सम्प्रेषण हुनु दुखद र खेदजनक विषय हो। अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने गरी, सत्य र यथार्थ नबुझी समाचार प्रकाशन गर्नाले न्यायपालिकाप्रतिको विश्वसनीयता र आम नागरिकको यसप्रतिको आस्थामा खलल पुग्न जाने तथा त्यस प्रकारको कामबाट सम्पूर्ण प्रेस जगतप्रतिको विश्वसनीयतामा पनि आँच आउन सक्ने अवस्था रहन्छ। यसप्रकारका कार्यहरू पत्रकार आचारसंहिता र कानुन प्रतिकूल पनि हुनाले कानुनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदै सम्प्रेषित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध छ।





















