काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाा देशभरमा गरिएको पीसीआर परीक्षणबाट ३९४ महिला र ८३४ जना पुरुषमा कारोना भाइरस पोजेटिभ देखिएको हो ।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ जना पुगेको छ। प्रवक्ता गौतमका अनुसार नेपालमा हाल संक्रिय संक्रमितको संख्या १८ हजार ८१३ रहेको छ।
पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २४ हजार २०७ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जना महिला र दुई जना पुरुषको निधन भएको प्रवक्ता गौतमले बताएका छन् । मृत्यु हुनेहरुमा चितवन, भक्तपुर, तनुहँ र रुपन्देहीका महिला तथा सिन्धुपाल्चोक र रुपन्देहीका पुरुष रहेका छन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।




















