काठमाडौं । हालैको बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। सरकारले भने उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन वैकल्पिक व्यवस्था अघि बढाएको जनाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपत्यकामा तत्काल ग्यासको आपूर्ति सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
मन्त्री यादवले उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास सिलिन्डर नपाएको अवस्थामा सोही मूल्यमा अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास उपलब्ध गराउन निर्देशन दिएकी हुन्।
बाढीका कारण सिर्जित आपूर्ति असहजतालाई तत्काल सम्बोधन गरी उपभोक्तालाई राहत दिन यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। यो व्यवस्था हाललाई काठमाडौं उपत्यकाभित्र मात्र लागू हुनेछ।
व्यवस्था तत्काल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्री यादवले नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन्।
साथै, विषम परिस्थितिको फाइदा उठाउँदै उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारको निर्देशनविपरीत काम गर्ने व्यवसायी तथा उद्योगमाथि कानुनबमोजिम कडा कारबाही गरिने उनले चेतावनी दिएकी छन्।




















