काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदको परिवारप्रति सरकारले पर्याप्त चासो नदिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले प्रधानमन्त्री वालेन्द्र शाहप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलन भएको एक वर्ष पुग्दा पनि शहीद परिवार र घाइतेको अवस्थाबारे सरकारले पर्याप्त ध्यान नदिएको गुनासो गरिन्।
उनले प्रधानमन्त्री शाहलाई शहीदप्रति श्रद्धाञ्जली दिन आग्रह गर्दा लामो समयसम्म बेवास्ता गरिएको दाबी गरिन्।
‘जेनजी आन्दोलन भएको एक वर्ष भयो। देशले शहीद पायो, एकदिन बिदा पायो। निमन्त्रणा दिएर कि त आइदिनुस्, केही न केही बोलिदिनुस्, केही त जेनजी शहीदको नाममा लेखिदिनुस् भनेर बिहान सात बजेदेखि भन्दा–भन्दा बेलुकी सात बजे स्टाटस त आयो,’ उनले भनिन्, ‘अन्ततः एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली !’
सांसद खत्रीले प्रधानमन्त्री शाहसमक्ष सदनबाट शहीद र उनीहरूका परिवारको न्याय तथा राज्यको जिम्मेवारीबारे दुई प्रश्नसमेत राखिन्।
‘शहीदले न्याय कति वर्षमा पाउँछ ? शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ ?’ उनले प्रश्न गरिन्।
उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएका नागरिकका परिवारप्रति राज्यले थप संवेदनशील भएर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिइन्।




















