काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गत भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबैलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।
बुधबार बीपी जयन्तीको अवसरमा भिडियो सन्देश जारी गर्दै सभापति थापाले दुवै दिन भएका घटनालाई अलग–अलग रूपमा हेरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताएका हुन्।
गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा भएको प्रहरी गोली प्रहारबाट युवाहरूको ज्यान गएको थियो। त्यसको भोलिपल्ट संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत देशभरका सरकारी तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो।
यी दुवै घटनामा संलग्नलाई कानुनअनुसार कारबाही गर्नुपर्नेमा जोड दिँदै थापाले भने, ‘हामी हाम्रो ठाउँबाट प्रस्ट छौँ। भदौ २३ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ। २४ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ। अनि मात्रै राज्य जवाफदेही राज्य बन्ने बाटोमा अगाडि बढ्न सक्छ।’
थापाले भदौ २४ गते आफ्नो घरसमेत आगजनीमा परेको स्मरण गरेका छन्। उक्त घटनाले आफू र परिवारलाई गहिरो पीडा दिएको उल्लेख गर्दै उनले त्यस दिन धेरै नागरिकका घर तथा सार्वजनिक सम्पत्ति जलेर नष्ट भएको बताए।
‘भदौ २४ गते मेरो घर जल्यो। मेरो परिवार झन्डै त्यही आगोमा परेको थियो। मेरो मात्र होइन, त्यो दिन धेरैको घर जल्यो। धेरै सार्वजनिक सम्पत्तिहरू क्षणभरमै जलेर नष्ट भए,’ उनले भने, ‘घरहरू मात्रै जलेका थिएनन्, त्यो दिनले थुप्रै परिवारलाई कहिल्यै नमेटिने घाउ पनि दिएको छ।’
उनले घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।




















