काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थितिबारे जानकारी लिन प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका हुन्। छलफलमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, उपचार र समग्र सुरक्षा अवस्थाबारे विस्तृत ब्रिफिङ लिने तथा आवश्यक निर्देशन दिने तयारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सिंहदरबारस्थित कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्।
प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम रहेको छ।
बाढीपछि प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत अभियानलाई थप प्रभावकारी बनाउने, प्रभावितको उपचार तथा पुनःस्थापनाका लागि आवश्यक समन्वय गर्ने र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा तथा तयारीबारे पनि छलफल हुने जनाइएको छ।




















