काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज महिला ३०३ र पुरुष ५९६ संक्रमित थपिएका हुन । आज थपिएकाहरु समेत गरेर ३९ हजार ४ सय ६० जना संक्रमित पुगेका छन् ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार देशभरमा १७ हजार ८ सय २२ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै होम आइसोलेसनमा ७ हजार १ सय २१ जना रहेका छन्।
७ हजार ३ सय ३७ जना क्वारेन्टिनमा रहेका छन् । संक्रमित मध्ये १३२ जनाको आसीयु र १६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । संक्रमणमुक्त हुने २१ हजार ४ सय १० जना रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा सात जनाको निधन भएको छ । निधन हुनेहरुमा दुई महिला, एक बालिका र चार पुरुषको निधन भएको स्वास्थ्यमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार महोत्तरीकी ४ वर्षिया बालिका, गोर्खाकी ६५ वर्षीय महिला र रुपन्देहीकी ६८ वर्षिय महिलाको निधन भएको छ ।
त्यस्तै झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुषको निधन भएको छ । आज समेत गरेर २२८ जनाको निधन भएको प्रवक्ता गौतमले बताएका छन् ।
पछिल्लो २४ घण्टामा ११ हजार १ सय २९ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।




















