वीरगंज । एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी)बाट नेपालमा बसेका भारतीयहरूलाई भारत पठाउने कार्य जारी छ । जेठ १३ गतेदेखि आइसिपीबाट भारतीयहरूलाई भारत पठाउने कार्य शुरू भएपछि अहिले आइसिपी र वीरगंज महानगरको बहुअरीस्थित भारतीय दूतावासको सहयोगमा निर्मित विद्यालय भवनमा हजारौं मानिस अलपत्र अवस्थामा छन् ।
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासमा २५ हजार मानिसले भारत जानको लागि आवेदन भरेका छन् । आवेदन भरेकाहरू र नभरेकाहरू पनि नेपालका विभिन्न स्थानबाट वीरगंज आउनेक्रम जारी छ । त्यसमध्ये सयौं व्यक्ति आइसिपीको खुला चौरमा रातदिन बिताइरहेका छन् । नेपालका विभिन्न स्थानबाट आएका भारतीयहरूको लागि खाने, बस्ने र पिउने पानीसमेतको व्यवस्थापन गरिएको छैन । विद्यालयमा बसेका भारतीयहरूले भारत जाने प्रतीक्षामा तीन दिनदेखि भोकै रहेको प्रतिक्रिया दिएका छन् ।
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले दैनिक ३ देखि ५ हजार भारतीय आइसिपीबाट भारत जानको लागि वीरगंज आउने तर उनीहरूमध्ये आधालाई पनि भारतीय पक्षले रक्सौल प्रवेश नगराएको कारण दैनिक समस्या बढिरहेको बताए । उनले उनीहरूको लागि पिउने पानीको व्यवस्था गरिएको र केही दातृ संस्थाले खाजा र खाना उपलब्ध गराए पनि सन्तोषजनक नभएको बताएका छन् । आइसिपीबाट भारत जानेहरूको लर्को बढे पनि भारतबाट नेपाल आउने नेपालीको सङ्ख्या दिनानुदिन घट्दै छ ।
पहिलो चरणमा चार सयको हाराहारीमा रक्सौलका दुईवटा क्वारेन्टाइनमा रहेका नेपालीहरू भित्रिए पनि अहिले दैनिक ५० देखि सयको सङ्ख्यामा मात्र भित्रिने गरेको नगरप्रमुख सरावगीले बताए । उनले भारतबाट भित्रिएका नेपालीहरूलाई वीरगंजस्थित त्रिजुद्ध मावि र ठाकुर राम बहुमुखी क्याम्पसमा राख्ने गरेको बताए । पर्सा जिल्ला र काठमाडौंबाहिरका मानिसलाई यथासक्दो उनीहरूकै जिल्ला पठाइरहेको नगरप्रमुख सरावगीले बताएका छन् ।



















