अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका नवीनकुमार घिमिरेले पदभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसँग शपथ लिएपछि घिमिरेले बिहीबारै अख्तियार कार्यालय पुगी पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि उनले आयोगलाई प्रभावकारही रुपमा अघि बढाइने बताए । भ्रष्टाचारीलाई आतंकित बनाउने गरी आयोगले काम गर्ने उनको भनाई छ ।
संसदीय सुनुवाइ समितिले सुनुवाइपछि बिहीबार अपराह्न घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो । घिमिरे दुई वर्ष प्रमुख आयुक्त हुनेछन् । ६५ वर्षे उमेर हदका कारण २०७७ असोज २८ गते उनले अवकाश पाउनेछन् । २०७४ फागुन २ गतेदेखि कार्यवाहक प्रमुख आयुक्त रहेका घिमिरे २०७१ चैत १९ गते आयुक्त नियुक्त भएका हुन् ।
संसदीय समितिमा दिएको प्रस्तुतिमा घिमिरेले भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गरेर देखाउन लालायित भएको भन्दै ‘स्मरणयोग्य’ काम गर्ने प्रतिबद्धता जनाएका थिए । उनले भ्रष्टाचार गर्नेसँग कुनै सम्झौता नहुने बताए ।
आगामी दिनमा परिणाम देखाउने गरी काम गर्ने विश्वास दिलाए । झन्डै ४ दशकको सार्वजनिक सेवामा आफूमाथि कुनै दाग नलागेको दाबी गर्दै उनले अबको दुई वर्षमा पनि त्यस्तो नहुने वाचा गरे । ‘दुई वर्षमा बदनाम भएर घरको चार दिवारमा सीमित हुने रहर छैन,’ घिमिरेले सुनुवाइ क्रममा भने, ‘जनताले सम्झने गरी काम गर्ने मन छ ।’