काठमाडौं, ११ जेठ । ‘डि–सिने अवार्ड’मा अभिनेत्री बसुन्धरा भुषाललाई ‘छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड’ प्रदान गरिएको थियो ।
बिहीबार राजधानीमा सम्पन्न यस १० औं संस्करणको अवार्डमा अनमोल केसी र नीता ढुंगाना उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन् । कार्यक्रmममा फिल्म ‘मंगलम्,’ सर्वाधिक अवार्ड जितेको छ । यस फिल्मले पाँच विधामा अवार्ड जितेको छ ।
अवार्डमा फिल्म ‘कृ’ र ‘लिली बिली’ले चार–चार विधाको अवार्ड जिते । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘कृ’ले ‘उत्कृष्ट फिल्म’ तथा यसै फिल्मबाट अनमोल केसी ‘उत्कृष्ट अभिनेता’, छाँयाकार पुरुषोत्तम प्रधान ‘उत्कृष्ट छाँयाकार’ र ग्लेज इन्टरटेनमेन्ट ‘उत्कृष्ट एनिमेसन’ विधामा अवार्ड पाए । नीताले फिल्म ‘पञ्चायत’बाट ‘उत्कृष्ट नायिका’ अवार्ड पाएकी हुन् ।
त्यस्तै मिलन चाम्स निर्देशित ‘लिलिबिली’ले ‘उत्कृष्ट निर्देशक’, एलिश कार्की ‘उत्कृष्ट पाश्र्वसंगीत’, प्रदिप भारद्वाज ‘उत्कृष्ट पटकथा’ र जसिता गुरुङ ‘उत्कृष्ट नव–नायिका’ घोषित भइन् ।
फिल्म ‘ऐश्वर्य’का लागि सुगम पोखरेल ‘उत्कृष्ट गायक’, प्रशान्त ताम्राकार ‘उत्कृष्ट खलपात्र’, फिल्म ‘दुई रुपैंयाँका लागि राजनराज शिवाकोटी ‘उत्कृष्ट संगीतकार’, कविराज गहतराज ‘उत्कृष्ट नृत्य निर्देशक’, दिपाश्री निरौला निर्दे्शित फिल्म ‘छक्का पन्जा २’ अवार्डमा ‘उत्कृष्ट पपुलर चलचित्र’ बन्दा फिल्मकी कलाकार वर्षा राउत ‘उत्कृष्ट सह अभिनेत्री’, केदार घिमिरे ‘उत्कृष्ट हास्यकलाकार’ बने ।
फिल्म ‘घामपानी’का लागि दीपेन्द्र लामा ‘उत्कृष्ट संवाद’, पुष्कर गुरुङ ‘उत्कृष्ट चरित्र अभिनेता’, फिल्म ‘रुद्र’का लागि हिमाल केसी ‘उत्कृष्ट द्वन्द्व निर्देशक’, फिल्म ‘पिँजडा ब्याक अगेन’का लागि कुसाग्र भट्टराई ‘उत्कृष्ट बालकलाकार’, फिल्म ‘भूँइमान्छे’का लागि नवराज बुढाथोकी ‘उत्कृष्ट कथा’ घोषित भएका छन् । अवार्डमा फिल्म ‘ब्लाइण्ड रक्स’ले ‘क्रिटिक्स अवार्ड’ र ‘सत्रु गते’ले ‘पब्लिक च्वाइस अवार्ड’ पाए ।