प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा शासकहरु नभएर जनता शक्तिशाली हुने बताएका छन् । नयाँकिरण मावि भरतपुरको स्वर्ण महोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले तानाशाही व्यवस्थामा मात्र शासक शक्तिशाली हुने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्री शक्तिशाली भयो भनेर धेरैले हल्ला गरेको तपाईंहरुले सुन्दै आउनुभएको छ । त्यस मान्यतालाई म मान्दै मान्दिन । शासकहरु शक्तिशाली हुन्छन् तानाशाहीमा, जनता शक्तिशाली हुन्छन् लोकतन्त्रमा । अहिले नेपाली जनता शक्तिशाली भएको बताउँदै उनले अहिले जनता शक्तिशाली भएको बताउँदै भने, ‘प्रधानमन्त्री शक्तिशाली हुने होइन ।’ शासनमा पुगेपछि शासनबाट नझर्नका लागि कहिल्यै पनि तानाशाहले आफू जोगिनका लागि वरिपरि किल्ला लगाउने भन्दै उनले भने, ‘पहिले पहिले दरबारमा किल्ला लगाउँथे, अहिले जहाँतहीँ गुटबन्दीले मान्छेको किल्ला लगाउँछन् ।’ किल्ला लगाएर आफू सुरक्षित हुने खालको तरिका गलत भएको उनले बताए ।
अब नेपालका उद्योग बेचेर खाने नभएर स्थापना गरेर उद्योग चलाएर रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘युवा विदेशिए भनेर गीत गाएर हुँदैन, अब केही वर्षभित्र विदेश जाने अवस्था सिर्जना नहोस् भनेर यही रोजगारीको सिर्जना गर्छाैं ।’
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रके पाण्डेले विद्यालयको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । सो विद्यालय २०२३ साल चैत २६ गते स्थापना भएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले स्वर्णद्वार, स्वर्ण स्तम्भ र सरस्वती मन्दिरको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा स्वर्ण वर्षका अवसरमा सबैभन्दा धेरै रु ७० लाख चन्दा दिने कमलबहादुर मल्ल र कुसुम मल्ललाई सम्मान गरिएको थियो । स्थानीय मल्ल दम्पतीले पेन्सनबाट प्राप्त रकम विद्यालयलाई सहयोग गरेका थिए । विद्यालयका प्रधानाध्यापक रामेश्वर अधिकारीले विद्यालयको स्वर्णवर्षसँगै अंग्रेजी र नेपाली माध्यममा पढाइ शुरु गर्ने बताए ।



















