यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बन्द हडतालको नाममा सवारी नचलाउने यातायात समितिको रुट परमिट खारेज गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा उनले गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र नेपाल प्रहरीको संयुक्त बैठकबाट आज सवारी नचलाउने सवारी साधनको रुट खारेज गर्ने निर्णय भएको बताए । ‘सवारी तथा यातायात व्यवस्था ऐनअनुसार रुट परमिट खारेज गछौँ,’ उनले भने ।
महानिर्देशक भट्टराईले बस सञ्चालनका लागि यातायात व्यवसायीसँग विनम्र अनुरोध गर्ने र अनुरोध नमाने कडा रुपमा प्रस्तुत हुने स्पष्ट पार्नुभयो । बीमालगायत केही जायज माग सम्बोधन गर्न सरकार तयार रहेको उनको भनाइ थियो । उनले सिन्डिकेट लाद्ने बस व्यवसायी समिति तथा व्यवसायीले बैंकबाट धमाधम पैसा निकालेको सूचना आएको भन्दै बैंक खाता रोक्नका लागि गृहमन्त्रालयले गृहकार्य शुरु गरिसकेको बताए ।
भट्टराईले व्यवसायीसँग छलफल गरी ल्याइएको २०४९ को ऐनलाई कार्य्विधिमार्फत लागू गर्न खोजिँदा व्यवसायीले आपत्ति जनाएको उल्लेख गरे ।